काठमाडौँ :- पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ले पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरूको अकाल मृत्यु रोक्न निःशुल्क क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रमलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।
मातातीर्थ औँसी का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिला स्वास्थ्यका गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। समाजमा अझै पनि महिलाको स्वास्थ्य दोस्रो प्राथमिकतामा पर्ने गरेको उल्लेख गर्दै उनले समयमै परीक्षण नहुँदा धेरै आमा तथा दिदीबहिनीहरूले ज्यान गुमाउनुपरेको यथार्थ स्मरण गराएका छन्।
आफू मन्त्री रहँदा पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरूको सुरक्षाका लागि एचपीभी खोप अभियान तथा महिलाहरूका लागि राष्ट्रियस्तरको स्क्रिनिङ कार्यक्रम सुरु गरिएको उनले बताएका छन्।
वर्तमान सरकारले यस अभियानलाई अझ प्रभावकारी र परिस्कृत रूपमा अघि बढाउने विश्वास व्यक्त गर्दै उनले नेपालमा महिलाको ज्यान लिने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर अग्रपंक्तिमा रहेको उल्लेख गरेका छन्।




