काठमाडौँ :- जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक तथा अप्रमाणित सूचना सिर्जना गरी प्रसारण–प्रकाशन नगर्न सबैलाई अनुरोध गरेको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ज्यानसम्बन्धी कसूरमा आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सर्वोच्च अदालतको परमादेश तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनअनुसार माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको छ।
यसैबीच, ‘ओली–लेखकको अनुसन्धानमा झेल ?’ शीर्षकमा एक युट्युब च्यानलमा प्रकाशित श्रव्यदृश्य सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले त्यस्ता सामग्रीमा प्रस्तुत धारणा र सूचनाबारे सचेत रहन आग्रह गरेको छ। परिसरले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय काठमाडौंको कानुनी रायपरामर्शमा अनुसन्धान भइरहेको अवस्थामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत सन्देश फैलिएको उल्लेख गरिएको छ। साथै, यस्ता भ्रामक तथा अप्रमाणित सूचना सिर्जना र प्रसारण नगर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।




