काठमाडौँ :- चैत महिनामा मात्र देशका २३ स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार चैतअघि यस वर्ष बर्डफ्लु देखिएको थिएन। पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैँचा र उर्लाबारीमा एकैसाथ संक्रमण देखिएको थियो।
हालसम्म सुनसरीका १२ स्थान, मोरङका सात, झापाका दुई, चितवन र काठमाडौँका एक–एक स्थानमा बर्डफ्लु पुष्टि भएको छ। संक्रमित क्षेत्रहरूलाई नियन्त्रणमा लिएर रोग फैलिन नदिएको विभागले जनाएको छ।
संक्रमण नियन्त्रणका लागि ती क्षेत्रमा एक लाख चार हजारभन्दा बढी कुखुरा तथा हाँस नष्ट गरिएको छ। काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा समेत बर्डफ्लु देखिएको थियो।
सुनसरी, झापा र मोरङमा संक्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।




