काभ्रे :- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तारको काम तीव्र रूपमा अघि बढिरहेको छ। तीन वर्षअघि सुरु भएको १६ किलोमिटर सडक विस्तार योजनामा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि गत मङ्सिर अन्तिम साता एक वर्ष म्याद थप गरिएको छ। हाल दुई लेन रहेको सडकलाई छ लेनमा विस्तार गरिँदै छ, जसअन्तर्गत दायाँबायाँ दुई–दुई सर्भिस लेन र २.५ मिटर चौडा फुटपाथ निर्माण भइरहेको छ।
यो सडक विस्तारलाई सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरी ठेक्का दिइएको छ। साँगा–धुलिखेल (८ किमी) खण्डको काम लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको थियो। उक्त खण्डमा सम्झौता अवधि सकिँदासम्म करिब ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ, जबकि समग्र प्रगति करिब ६५ प्रतिशत र पिचबाहेक ९० प्रतिशत काम सकिएको जनाइएको छ।
सूर्यविनायक–साँगा खण्डमा भने करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ। ‘सेन्टर लाइन’ विवादका कारण लामो समय रोकिएको पलुबजार क्षेत्रमा गत मङ्सिरदेखि पुनः काम सुरु गरिएको हो। हाल जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी र बनेपा बजार क्षेत्रमा काम तीव्र पारिएको छ।
यस खण्डमा टेवा पर्खाल, नाली र कल्भर्ट निर्माणको काम भइरहेको छ। साँगा क्षेत्रमा ठूला घुम्ती र भिरका कारण काम गर्न केही कठिनाइ देखिएको आयोजनाले जनाएको छ। तीनमध्ये महादेव खोलामा पुल निर्माण भइरहेको छ भने बाँकी दुई पुलको डिजाइनसम्बन्धी समस्या समाधान भई निर्माणको तयारी भइरहेको छ।
चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएपछि यस राजमार्गमा सवारी चाप बढेको छ। हाल कोटेश्वरबाट मात्रै दैनिक २,५०० भन्दा बढी सवारी साधन यस मार्गमा सञ्चालन भइरहेका छन्।




