चितवन :- गोरखाको सहिदलखन गाउँपालिका–३ कानटार मा शनिबार भएको माइक्रोबस दुर्घटनामा घाइते भएकाहरूको उपचार कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, भरतपुर मा भइरहेको छ। दुर्घटनामा घाइते भएका नौ जनालाई गएराति नै अस्पताल ल्याइएको थियो।
अस्पतालका चिकित्सक डा. सुदीप केसी का अनुसार पाँच जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। तीमध्ये तीन जनाको न्यूरो सर्जरी आईसीयू र दुई जनाको सर्जरी आईसीयूमा उपचार भइरहेको जनाइएको छ। घाइतेमध्ये सात जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन्।
मनकामना मन्दिर दर्शन गरेर फर्किरहेका १६ जना भक्तजन सवार बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा सात जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।




