काठमाडौँ :- पश्चिम एसिया (मध्यपूर्व)मा पछिल्लो समय देखिएको सुरक्षा चुनौतीका विषयमा नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एसियामा विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट निगरानी गरिरहेको र हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको जानकारी दिएका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।
सचिव राईका अनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना कूटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ। साथै सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बैठकले गरेका निर्णयहरू सम्बन्धित नेपाली नियोगमार्फत निरन्तर कार्यान्वयन भइरहेको पनि उनले बताए।
उनले भने, “हालसम्मको विश्लेषणअनुसार नेपाली नागरिकको सुरक्षामा तत्कालै गम्भीर जोखिम देखिएको छैन। त्यसैले उद्धार गरेर स्वदेश फर्काउनुपर्ने अवस्था बनेको छैन। नेपालमा रहेका परिवारजन तथा पश्चिम एसियामा बसोबास गर्ने नेपालीहरूलाई अनावश्यक रूपमा चिन्तित नहुन म आग्रह गर्दछु।”
नेपालले अन्य श्रम गन्तव्य मुलुकहरूसँग पनि आवश्यक समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।




