काठमाडौँ :- आज काठमाडौँ विश्वका सबैभन्दा अस्वस्थ सहरहरूमध्ये चौथो स्थानमा परेको छ।
राजधानीमा वायु प्रदूषणको अवस्था अझै सुधार हुन सकेको छैन। मंगलबार निकै खराब अवस्थामा पुगेको वायु प्रदूषण आज पनि अस्वस्थ तहको नजिक पुगेको छ।
स्विट्जरल्याण्डस्थित आईक्यू एयरले रियल टाइममा मापन गरेको तथ्यांकअनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) १९६ पुगेको छ। AQI २०० पुगेमा निकै अस्वस्थ मानिन्छ भने १५० नाघेपछि नै अस्वस्थ श्रेणीमा पर्ने मानिन्छ।
नेपाल सरकारले निर्धारण गरेको वायु गुणस्तर सूचकांकअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तह मानिन्छ।
आजको सूचीमा भारतको दिल्ली पहिलो, पाकिस्तानको लाहोर दोस्रो र बंगलादेशको ढाका तेस्रो स्थानमा रहेका छन्। वायु प्रदूषण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ। साथै, बाहिर निस्कँदा मास्क प्रयोग गर्न पनि मन्त्रालयले सुझाव दिएको छ।




