काठमाडौँ :- देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
हाल देशको वायुमण्डलमा उच्चचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ भने पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली सक्रिय रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद् लामिछानेका अनुसार यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
त्यस्तै कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ।




