इरान :- इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएको छ।
इरानको सरकारी टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यमहरूले खामेनी मारिएको खबर पुष्टि गरेका छन्। इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजलाई उद्धृत गर्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएको जनाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए। तर त्यस समय इरानी अधिकारीहरूले उनी सुरक्षित रहेको दाबी गर्दै आएका थिए। आइतबार बिहान इरानी अधिकारीहरूले नै उनको मृत्यु भएको पुष्टि गरेको कुरा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
खामेनीको निधनपछि इरानमा ४० दिनको सार्वजनिक शोक घोषणा गरिएको बताइएको छ।
शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा आक्रमण गरेका थिए। राजधानी तेहरानस्थित खामेनीको निवास नजिकै ठूलो विस्फोटको आवाज र बाक्लो धुवाँ देखिएको विवरण सार्वजनिक भएको थियो। निवाससहित आसपासका अन्य भवनहरूमा पनि क्षति पुगेको भिडियो तथा तस्बिरहरू बाहिरिएका छन्।
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताको रूपमा कार्यरत थिए।




