काठमाडौँ :- बैतडीमा पछिल्लो एक महिनाको अवधिमा तीन जना निर्वाचन ड्युटीमा खटिएका प्रहरीको मृत्यु भएको छ।
सबैभन्दा पछिल्लो घटना सोमबार भएको हो। मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ड्युटी सकेर घर फर्किएपछि एक्कासी बेहोस भएका थिए।
उपचारका लागि उनलाई एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। तर स्वास्थ्य केन्द्र पुर्याइएपछि चिकित्सकले मध्यराति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वड घरमै अचेत भएर ढलेपछि मृत्यु भएको थियो।
त्यसैगरी, गत माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्द तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर ज्यान गुमाएका थिए।




