काठमाडौँ :- बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुका साथै खानेतेल, दाल, चामललगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ।
अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या र अभाव भएको भन्दै उपभोक्ताबाट गुनासा बढेपछि विभागले उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म र प्रतिष्ठानमा निरन्तर संयुक्त बजार अनुगमन अघि बढाएको जनाएको छ।
आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दाबी गरे पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। मागअनुसार ग्यास आपूर्ति नहुँदा अभाव देखिएको विभागको निष्कर्ष छ। यद्यपि निगमले ग्यास अभाव भए सिधै सम्पर्क गर्न आग्रह गरेको छ।
निगमका अनुसार ग्यासको उपलब्धतामा समस्या आएमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी उजुरी दर्ता गराउन सकिनेछ। साथै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न पनि निगमले अनुरोध गरेको छ।




