काठमाडौँ :- मोरङको रङ्गेली–५ बहुवनमा एक युवकले पत्नीको हत्या गरी आफूले पनि ज्यान लिएको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रङ्गेली नगरपालिका–५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले मङ्गलबार बिहान करिब २ बजेतिर रङ्गेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नी अम्बिका कुमारी मण्डलको हत्या गरेका हुन्। त्यसपछि उनले आफूले पनि ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुकेश र अम्बिका दुवै विराटनगरमा बस्दै आएका थिए। घरायसी विवादका कारण अम्बिका केही समयदेखि माइतमा बस्दै आएकी थिइन्। मुकेशको घर र ससुराली घरबीचको दूरी करिब एक किलोमिटरभित्र रहेको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालसहितको टोली घटनास्थल पुगेको थियो। इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार दुवैको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।
प्रहरीले उनीहरूको विवाह गत मङ्सिर १२ गते भएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।




