काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालका अनुसार उनको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको हो। चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षको उमेरमा निधन भएको हो।
बालेनको चुनावी प्रचारका क्रममा अछाम पुगेका बेला सिटौला एक्कासी बेहोस भएर ढलेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। अन्तिम श्रद्धाञ्जलीका लागि स्व. सिटौलाको पार्थिव शरीर आज दिउँसो २:३० देखि ३:०० बजेसम्म चलचित्र विकास बोर्डमा राखिनेछ। उनी ‘फिल्म अनलाइन’ तथा ‘द सिनेमा टाइम्स’ का सञ्चालक समेत थिए।




