भक्तपुर :- भक्तपुरको कमलविनायक बसपार्क नजिक भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
बुधबार राति कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो। त्यसपछि विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका वडा नं. ८ निवासी २६ वर्षीय बिमल वनमालाको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नं. ७ इनाचोका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन्। उनको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।




