काठमाडौँ :- इन्डोनेसियाको जाभा टापुमा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। भारी वर्षापछि शनिबार बिहान करिब २ः३० बजे पश्चिम जाभा प्रान्तको पश्चिम बाण्डुङ जिल्लामा पहिरो गएको हो, जसले दर्जनौं घरमा क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) का अनुसार शनिबार बिहान १०ः३० बजेसम्म दर्जनौं बासिन्दा सुरक्षित रूपमा उद्धार गरिएका छन् भने ८३ जनाको खोजी कार्य जारी छ।
इन्डोनेसियामा अक्टोबरदेखि मार्चसम्मको वर्षायाममा बाढी र पहिरो बारम्बार हुने समस्या हो। गत वर्षको अन्त्यतिर दक्षिण तथा दक्षिणपूर्वी एसियामा आएको उष्णकटिबंधीय आँधी र तीव्र मनसुनका कारण इन्डोनेसियाको सुमात्रा लगायत पहाडी क्षेत्रमा भीषण बाढी र पहिरो आएको थियो।
सुमात्रामा आएको बाढीमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने दुई लाख ४० हजारभन्दा बढी विस्थापित भएका थिए। वातावरणविद्हरूका अनुसार वनक्षयका कारण माटोको बहाव बढ्दा बाढी र पहिरोको जोखिम झन् तीव्र भएको छ।
यसै सन्दर्भमा इन्डोनेसिया सरकारले यसै हप्ता सुमात्रामा रहेका वन, खानी र जलविद्युत कम्पनीहरूका २४ भन्दा बढी अनुमति रद्द गरेको छ। यसैबीच, यसै महिनामा सियाउ टापुमा आएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो।



