काठमाडौँ :- पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानमा तीन जनाको ज्यान गएको छ । पछिल्लो समय निकुञ्ज क्षेत्र आसपासमा बाघको आतङ्क बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसैगरी पुस २६ गते सोही क्षेत्रसँग जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पनि बाघको आक्रमणबाट ज्यान गएको हो ।
यसैक्रममा पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी गाउँपालिका–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीमाथि पाटेबाघले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले घाँस–दाउरा गर्न जंगल जाने स्थानीय बाघको आक्रमणमा पर्ने गरेका छन् ।
एक साताभित्रै तीन जनाको मृत्यु भएपछि निकुञ्ज आसपासका बासिन्दामा भय र त्रास फैलिएको कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघका कारण स्थानीय जनजीवन प्रभावित भएको उनको भनाइ छ ।
जिल्ला डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन अधिकृत टेकबहादुर रावलका अनुसार पाटेबाघले दुई वटा घरपालुवा गाईगोरुलाई पनि आक्रमण गरी मारेको छ । बाघले मानिस र पशुमाथि लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले उक्त बाघलाई नियन्त्रणमा लिने वा आवश्यक परे मार्ने आदेश जारी गरेको छ ।
वन्यजन्तु संरक्षणसम्बन्धी कानुनअनुसार सिफारिस समितिको निर्णयमा पुस ३० गते बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गरी विशेषज्ञ टोली परिचालन गर्न आग्रह गरिएको रावलले जानकारी दिए । स्थानीय बासिन्दा दैनिक कामका लागि समेत घरबाहिर निस्कन नसक्ने अवस्था बनेपछि यस्तो निर्णय लिनुपरेको उनको भनाइ छ ।




