काठमाडौँ :- मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक, मनहरी–७ का ४० वर्षीय सूर्यबहादुर मोक्तान, गम्भीर घाइते भएका थिए।
उनीलाई प्रारम्भिक उपचारको लागि मनहरी अस्पतालमा लगिएको थियो र थप उपचारको लागि पुरानो मेडिकल कलेज, चितवनमा भर्ना गरिएको थियो। उपचारका क्रममा दिउँसो ३ बजे उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र चालक हेटौँडा उपमहानगरपालिका–११ का ५४ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।



