काठमाडौँ :- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको जागृति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आज काठमाडौँको विशेष अदालतमा त्रियुगा नगरपालिका-१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकको मिलेमतोमा सरकारी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरेको हो।
अख्तियारले उक्त समितिका तत्कालीन अध्यक्ष मीनाकुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र लेखापरीक्षक तनुकलाल चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूमाथि संस्थाको ५ लाख १५ हजार ३०२ रुपैयाँ ५८ पैसा हिनामिना गरेको आरोप छ।
यसमा आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक वनको भवन निर्माणमा प्राविधिक प्रतिवेदन अनुसार ४ लाख ९५ हजार खर्च भएकोमा लेखापरीक्षणमा ८ लाख ८ हजार खर्च देखाएर ३ लाख १३ हजार रुपैयाँ हिनामिना गरिएको, साधारणसभाबाट २ लाख ३७ हजार अनुमोदन भएकोमा ३ लाख ५४ हजार खर्च देखाएर १ लाख १६ हजार हिनामिना गरिएको आरोप छ।
यसै गरी, ग्यास सिलिण्डर वितरणमा ५ लाख ९ हजार खर्च भएकोमा ५ लाख १६ हजार देखाएर ७ हजार बढी रकम हिनामिना गरिएको, र नहुँदा सडक ग्राभेलको काम भएको भनेर ७७ हजार ६०० रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ। लेखापरीक्षक तनुकलाल चौधरीलाई नभएका कामलाई पनि भएको भनेर गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गर्न सघाएको ठहर गरिएको छ।
अख्तियारले मीनाकुमारी, जानकी र निलमलाई ५ लाख १५ हजार ३०२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ। लेखापरीक्षक तनुकलाललाई पनि गलत प्रतिवेदन पेस गरेको कसुरमा कैद र जरिवानाको माग गरिएको आयोगले जनाएको छ।



