काठमाडौँ :- बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि अस्वस्थ रहँदै आएकी जियाको आज बिहान उपचारकै क्रममा निधन भएको हो। उनी पछिल्ला २० दिनदेखि भेन्टिलेटरको सहायतामा उपचाररत थिइन्।
खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो र मिर्गौला समस्या, मधुमेह, बाथ तथा आँखासम्बन्धी विभिन्न रोगबाट पीडित थिइन्। उनको निधनको पुष्टि परिवारका सदस्य र पार्टीका शीर्ष नेताहरूले गरेका छन्।
सन् १९९१ देखि १९९६ तथा २००१ देखि २००६ सम्म गरी दुई कार्यकाल बंगलादेशको प्रधानमन्त्री बनेकी जिया पूर्व राष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन्। उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा पनि परिचित छिन्।



