काठमाडौँ :- पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले पूर्वप्रधानमन्त्री र पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।
अदालतको आदेशका अनुसार, दुवैलाई १ करोड ६४ लाख रुपैयाँ जरिवाना पनि गरिएको छ। यदि उनीहरूले यो रकम तिर्न सकेनन् भने थप जेल सजाय भोग्नु पर्नेछ। भ्रष्टाचार र गोपनीयता भङ्ग गर्नेदेखि अन्य विभिन्न आरोपमा जेल सजाय भोगिरहेका इमरान खान अहिले रावलपिन्डीको अडियाला जेलमा रहेका छन्।
उनकी पत्नी बुसरालाई पनि १७ वर्षको जेल सजाय सुनाइएको छ। इमरान खान एक समय पाकिस्तानका ख्यातिप्राप्त क्रिकेट खेलाडी थिए र पछि राजनीतिमा प्रवेश गरी देशको प्रधानमन्त्री पनि बने।
खान र बुसराले यी सबै आरोपलाई अस्वीकार गर्दै राजनीतिक प्रतिशोधको रुपमा आफूहरूलाई लक्षित गरिएको दाबी गर्दै आएका छन्।




