काठमाडौँ :- संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ।
संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो, र त्यसै अनुरूप नेपालमा पनि यो दिवस मनाउन तयारी गरिएको छ। संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायको रूपमा स्वीकार गरेको जानकारी दिइएको छ।
गत वर्ष डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। यसै वर्ष पहिलोपटक नेपालमा टुँडिखेलमा सरकारकै आयोजनामा यो दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारले यस दिवसको आयोजना गर्ने भएको छ।
नेपाललाई **विश्वका ‘ध्यानको राजधानी’**का रूपमा विकास गर्ने आवश्यकता रहेको धारणा यस क्षेत्रमा लागेका व्यक्तिहरूको छ। एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको हो।
सन् २०१४ देखि यो प्रस्ताव अघि बढाइएको थियो, र गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो।
यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ। त्यस्तै, दक्षिणकाली नगरपालिका-१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रिया र सामूहिक ध्यान कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा अन्य सरोकारवाला निकायहरूले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छन्।




