काठमाडौँ :- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्ने लक्ष्य राखेको जानकारी दिएका छन्।
आज टुँडिखेलमा आयोजित महानगर दिवस समारोहमा उनले उक्त जग्गाको मूल्य दुई खर्ब रुपैयाँ बराबर रहेको र फिर्ता गराउने योजना रहेको बताए। उनले भने, “हामी निर्वाचित भएपछि २३ अर्ब रुपैयाँ बराबरको २ सय ८ रोपनी भन्दा बढी सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ।”
आफ्नो भनाइमा उनले थपे, “हाम्रो लक्ष्य करिब दुई खर्ब मूल्य बराबरको १ हजार ८ सय ५९ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्नु हो। यस कार्यमा सबैको सहयोग र साथ प्राप्त हुनेछ भन्ने आशा राख्छौं।”
त्यसैगरी, उनले काठमाडौँ महानगरपालिकाले गत वर्ष करिब दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेको र ९१ करोड रुपैयाँ लागत बराबरको सम्पदा संरक्षण कार्य पनि सञ्चालन गरिएको जानकारी दिए।




