काठमाडौं :- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक र आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनु आवश्यक भएको बताइन्।
आज काठमाडौँमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरूले उठाएका सुशासन र समृद्धिको प्रमुख मुद्दाबारे चर्चा गर्दै, यी मुद्दाहरूको समाधान गर्ने दिशामा काम गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “२३ र २४ भदौको जेनजी आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको मुद्दा उठाएको यहाँहरूलाई थाहा नै छ। राजनीतिक र आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेनजीको माग समावेशी विकास र समान न्यायको आवश्यकता हो। सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास मात्र दिगो र सशक्त बन्न सक्छ, जसले राष्ट्रलाई बलियो बनाउँछ। यस दिशामा प्रतिष्ठानले थप प्रभावकारी भूमिका निर्वाह गर्न सकोस्।”




