काठमाडाैं :- अभिनेत्री वर्षा राउत हाल आफ्नो नयाँ फिल्म ‘हर्ष’ को प्रचारप्रसारमा व्यस्त छिन्। केही दिनअघि उनी श्रीमान् संजोग कोइरालासँग एक टेलिभिजन कार्यक्रममा उपस्थित भइ विभिन्न विषयमा अन्तर्वार्ता दिएकी थिइन्।
उक्त कुराकानीमा वर्षा–संजोग दम्पतीको वैवाहिक सम्बन्ध, बीचमा भइरहने खटपट, वर्षाको हातमा देखिएको दागदेखि विभिन्न निजी विषयसमेत चर्चामा आए। यिनै विषयपछि सामाजिक सञ्जालमा आएका टिप्पणीहरूले वर्षालाई पुनः तनावमा पारिरहेको देखिन्छ।
सोमबार बिहानै उनले एक प्रयोगकर्ताको टिप्पणीको स्क्रिनसट सार्वजनिक गर्दै भावनात्मक र मर्मस्पर्शी स्टाटस लेखिन्। त्यहाँ उनले, “यो समाजमा बाँच्न मलाई निकै गाह्रो भइसकेको छ” भनेर आफ्नो मनोभाव व्यक्त गरेकी छन्। श्रीमतीले सहनुपरेका चोट, धोका र बेइज्जतीप्रति कसैले चासो नदेखाउने, महिलाको पीडा समाजले बेवास्ता गर्ने गुनासो पनि उनले राखेकी छन्।
समाज भित्रका गल्ती र अन्याय देख्ने चाहना नहुने भन्दै वर्षाले आक्रोश पोख्दै लेखिन्, “सच्याइनुपर्ने त समाज आफैं हो। परिवर्तन सबैलाई चाहिएको भन्छन्, तर बदलिन कसैलाई मन छैन। यसैले मान्छे एक्लो महसुस गर्छ, थाकिन्छ र कहिलेकाहीँ अन्धकारतिर तानिन्छ।”
उनले समाजलाई बाहिरी रूपमा मात्र ‘सबै उत्तम’ देखाउन बाध्य पार्ने तर भित्रका गल्ती, अन्याय र असमानता सुधार्न अनिच्छुक भएको आरोप लगाउँदै लेखिन्, “श्रीमतीलाई ‘लाटी, अलच्छिनी’ भनेर अपमान गर्दा समाज मौन बस्छ।”



