काठमाडौँ :- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले हालै सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थान हद लगाउने निर्णय गरेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज जारी गरिएको विज्ञप्तिमा खापुङलाई सो घटनासम्बन्धी जाँचबुझका लागि आवश्यक परेमा कुनै पनि समयमा उपस्थित हुन सक्ने गरी स्थान हद लगाइएको जानकारी दिनुभएको छ।
विज्ञप्तिमा भनिएको छ, “निजलाई आजैदेखि लागू हुने गरी विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको छ।”
यसअघि आयोगले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई पनि स्थान हद लगाउने निर्णय गरिसकेको थियो।




