काठमाडौँ :- देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव देखिँदै गएको हुँदा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी तीन दिनसम्म निरन्तर बढ्न सक्छ। यी प्रदेशका नदीहरूमा पानीको बहाव तीव्र हुने र केही स्थानमा आकस्मिक बाढी आउने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
विशेषतः ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु तथा आसपासका क्षेत्र हुँदै बग्ने स–साना नदी र खोला–नालामा पानीको सतह उल्लेख्य बढ्न सक्ने चेतावनी जारी गरिएको छ।
महाशाखाले यी सम्भावित प्रभावित क्षेत्रमा रहेको नागरिक, स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई सतर्क रहन र जोखिमयुक्त नदी किनार तथा तल्लो भू–भागमा आवतजावत कम गर्न आग्रह गरेको छ।





