काठमाडौँ :- बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न प्रदेशको मौसम प्रभावित हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभाव विशेषगरी बागमती, मधेश र कोशी प्रदेशमा बढी देखिनेछ।
विभागले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही क्षेत्रमा **मध्यम वर्षाको सम्भावना** रहेको जनाएको छ। मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा हल्का वर्षा हुनसक्ने देखिएको छ।
चक्रवात सक्रिय भएपछि कोशी र बागमती प्रदेशका **उच्च पहाडी तथा हिमाली भू–भाग** तथा गण्डकी प्रदेशका केही उच्च भू–भागमा **मध्यम हिमपात** को सम्भावना छ। त्यसमध्ये कोशी र बागमती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात हुनसक्ने विभागका प्रवक्ता विभूति पोखरेलले बताए।
उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र तिनका सहायक नदीहरूमा बहाव बढ्ने र सतर्कता तह आसपास पुग्ने सम्भावना छ। कोशी, बागमती र मधेश प्रदेशका महाभारत–चुरे क्षेत्र हुँदै बहने साना नदी–नालामा आकस्मिक बहाव हुनसक्ने चेतावनी दिइएको छ ।
विशेष सतर्कता आवश्यक क्षेत्रहरूमा
बागमती प्रदेश : काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली
मधेश प्रदेश : बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा
कोशी प्रदेश : संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी
विभागले वर्षा र हिमपातका कारण नदी–नाला, पहिरो, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भन्दै सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।




