काठमाडौँ :- छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गर्दै विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरू बेलुकी सूर्यास्तको बेला अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । यस पर्वमा व्रत बस्न नसक्नेहरूले अरू व्रतालुहरूबाट आफ्नो मनोकामना पूर्तिको कामना गर्दछन् । आर्थिक कठिनाइ भए पनि मानिसहरू भिक्षा मागेर वा जसरी पनि यो पर्व श्रद्धा र भक्ति सहित मनाउने गर्छन् ।
चतुर्थीका दिन स्नान गरी एक छाक मात्र भोजन गर्ने परम्परा छ । त्यसपछि पञ्चमीका दिन ‘खरना’ गरिन्छ, जसमा सखर मिसाएर पकाइने खीर षष्ठी मातालाई अर्पण गरिन्छ र व्रतालुले प्रसादस्वरूप सेवन गर्छन् । यो दिन नुन नखाई फलाहार मात्र गरिन्छ ।
मुख्य दिन षष्ठीका दिन व्रतालुहरू कठोर निराहार व्रत बसेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । त्यस रातभर जाग्राम बस्ने परम्परा रहँदै आएको छ ।
अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । धार्मिक विश्वास अनुसार, कार्तिक शुक्ल पक्षमा सूर्यदेवलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गरे चर्म (छाला) रोग नलाग्ने र आयु, आरोग्य तथा समृद्धि प्राप्त हुने मान्यता छ ।



