काठमाडौँ :- टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।
रिपोर्टमा उक्त अवधिभित्र टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान र हटाउने क्रममा अपनाएका सक्रिय उपायहरूको विवरण समावेश गरिएको छ। टिकटकका अनुसार, यी कदमहरूले विश्वव्यापी समुदायलाई सुरक्षित र सकारात्मक अनुभव प्रदान गर्ने उद्देश्य राख्छन्।
नेपालमा मात्रै, टिकटकले यस अवधिमा २४ लाख ७६ हजार ३४५ भिडियोहरू हटाएको जनाएको छ। नेपालमा हटाइएका भिडियोहरूको ९९.८ प्रतिशत स्वतः पहिचानमार्फत हटाइएको र ९८.४ प्रतिशत भिडियोहरू २४ घण्टाभित्रै हटाइएको रिपोर्टमा उल्लेख छ।
विश्वव्यापी रूपमा भने टिकटकले १८९ मिलियन (१८९,५७८,२२८) भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०.७ प्रतिशत हो। तीमध्ये १६३.९६ मिलियन भिडियोहरू अटोमेटेड डिटेक्सन प्रणालीबाट पत्ता लागेका थिए, भने ७.४५ मिलियन भिडियोहरू पुनः समीक्षा पछि पुनःस्थापित गरिएको छ।
टिकटकको ग्लोबल सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेको छ, र ९४.४ प्रतिशत कन्टेन्ट २४ घण्टाभित्रै हटाइएको हो। यस अवधिमा टिकटकले ७६,९९१,६६० नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाता पनि बन्द गरेको जनाएको छ।
रिपोर्टका अनुसार, हटाइएका भिडियोहरूमध्ये ३०.६ प्रतिशतमा संवेदनशील वा वयस्क विषयवस्तु, १४ प्रतिशतमा सुरक्षा र सभ्यता मापदण्ड उल्लंघन, र ६.१ प्रतिशतमा गोपनीयता तथा सुरक्षासम्बन्धी नियम उल्लंघन पाइएका थिए।


