काठमाडौँ । गुल्मीको मदाने गाउँपालिका–१ कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिकाका १९ वर्षीय सहचालक मेघराज पुन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।
गएराति रा१त ३५०२ नम्बरको ट्याक्टर बालुवा लोड गरेर अग्लुङ फेदीबाट वडा कार्यालयतर्फ आइरहेको समयमा दुर्घटना भएको हो। उकालोमा लोड तान्न नसकी ट्याक्टर ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। ट्याक्टर चालक २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


