काठमाडौँ :- बाँकेको राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ।
खत्री शुक्रबार अपराह्न करिब २ बजे स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका थिए। त्यसपछि उनी घर नफर्केपछि परिवारले खोजी सुरु गरेको थियो। शनिबार बिहान प्रहरी र स्थानीयवासीको टोलीले खोजी गर्ने क्रममा रिम्ना सामुदायिक वनको चिल्लेपाटामा उनको शव फेला परेको प्रहरी चौकी ढकेरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले जानकारी दिनुभयो।
शाहीका अनुसार घटनास्थल बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने भएकाले निकुञ्जसँग समन्वय गरेर शव परीक्षणलगायतका प्रक्रिया सुरु गरिएको छ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार घटनाको प्रारम्भिक विवरण र स्थलको अवस्थाले बाघको आक्रमणको सङ्केत देखाएको छ।
“घटनास्थल हेर्दा बाघ वा चितुवाको आक्रमण हुनसक्छ,” कँडेलले भने, “पुष्टिका लागि क्षेत्रभित्र क्यामेरा जडान गरिनेछ।”


