चितवन भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटना आज बिहान ७ः३० बजे भएको हो। घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना मुग्लिङबाट नारायणगढतर्फ आइरहेको ट्रक (ना ८ ख ६६२९) र विपरीत दिशाबाट जाँदै गरेको बस (बा ४ ख ७४२०) बीच ठोक्किएपछि भएको हो। सो बसको पछाडि रहेको टेलर (ना ७ ख ९६०७), इलेक्टिक माइक्रो (बा प्र ०६–००१ ग ०४८४), अर्को बस (ग २ ख १६२६), बलेरो (ना ३ च ३२५६) र कार (बिएबी ८४७०) पनि ठक्करमा परेका थिए।
घाइतेमध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जना जनता केयर अस्पतालमा उपचाररत छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


