काठमाडौँ :- इजरायलमा हमासद्वारा नियन्त्रणमा परेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा पुष्टि गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) का एक अधिकारीले आज बिहान स्थानीय समय अनुसार साढे ७ बजे विपिनको निधन भएको जानकारी दिएका हुन्।
उक्त जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत् दिइएको राजदूत पण्डितले बताएका छन्।
राजदूत पण्डितका अनुसार, “आईडीएफका अधिकारीले हामीलाई ‘विपिन इज नो मोर’ भनेर औपचारिक रूपमा जानकारी दिएका हुन्।”
अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरूलाई रिहा गर्ने कार्यक्रम तय गरिएको छ। तर, रिहा गर्न लागिएको २० जनाको सूचीमा विपिनको नाम नपरेको बताइएको छ।
विपिनको अवस्थाबारे जानकारी प्राप्त गर्न उनका आमा र बहिनी केही समयअघि सरकारी सहयोगमा इजरायल पुगेका थिए। हाल उनीहरू अमेरिकामा रहेका छन्।




