हुम्ला :- हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको डबल क्याप जिप मेल्छामबाट पिप्लाङतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको हो। दुर्घटना चंखेली गाउँपालिका–४ बेसीखोला स्थित भित्री सडक खण्डमा बिहान करिब ११ बजे भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा मेल्छाम प्रहरी चौकीबाट पाँच जनाको टोली पुगेर उद्धार कार्यमा संलग्न रहेको डिएसपी शंकर पोखरेलले बताए।
दुर्घटनामा परि घाइते हुनेहरूमा चंखेली गाउँपालिका–६ की १४ वर्षीया बिमला बुढा, २८ वर्षीय मनवीर बुढा, २६ वर्षीया पार्वती सिरन, २४ वर्षीय हंश लामा, २८ वर्षीय कैलाश सिरा, १९ वर्षीय बहादुर लामा र सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया रहेका छन्।
डिएसपी पोखरेलका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर, ३ जनाको मध्यम र १ जनाको सामान्य रहेको छ। दुर्घटनाग्रस्त जिपलाई सडकको मर्मतपछि मात्र बाहिर निकाल्ने तयारी भइरहेको बताइएको छ।




