काठमाडौं :- ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नारासहित आज विश्वका विभिन्न देशमा विश्व हुलाक दिवस मनाइँदैछ। सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको अवसर सम्झनामा हरेक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ।
सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले औपचारिक रूपमा विश्व हुलाक दिवस घोषणा गरेको थियो। त्यसयता विश्वभरका विभिन्न देशहरूले वार्षिक रूपमा यस दिवसलाई विभिन्न कार्यक्रममार्फत मनाउँदै आएका छन्। यस अवसरमा धेरै देशका हुलाक सेवाले नयाँ हुलाक उत्पादन र सेवाहरूको प्रवर्द्धनसमेत गरिरहेका छन्।
विश्व हुलाक दिवसको अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जारी गरेको सन्देशमा हुलाक सेवाले शहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम गर्न सहयोग गरेको र हुलाक कर्मचारीहरूको सञ्जालले दुर्गम गाउँ र शहरलाई जोड्दै विश्वलाई सबैको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।




