काठमाडौँ :- सगरमाथा नजिकको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई चिनियाँ उद्धार टोलीले सकुशल उद्धार गरेको छ। पछिल्ला वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ र यस वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू ट्रेकिङ मार्गमा पुगेका थिए।
हिमपातले धेरै शिविर पुरिँदा यात्रुहरू फस्न पुगेपछि उद्धारकर्मीहरूले अग्निशामक, घोडा, याक र ड्रोन प्रयोग गरी व्यापक उद्धार अभियान सञ्चालन गरेका थिए। राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार ५८० जना पर्वतारोही र ३०० भन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन्।
उद्धार टोलीले करिब एक दर्जन थप पर्वतारोहीलाई आपूर्तिसहित नजिकैको बस्तीमा पु¥याएपछि अभियान औपचारिक रूपमा समाप्त भएको छ। तर अप्रत्याशित चरम मौसमका कारण नजिकका अन्य क्षेत्रमा क्षति पुगेको छ।
छिमेकी किङ्घाई प्रान्तमा एक हाइकर हाइपोथर्मिया र उचाइ रोगका कारण मृत्युवरण गरेका छन्। त्यस्तै, नेपाल र भारतको सिमानामा भारी वर्षा र भूस्खलनका कारण ७० जनाभन्दा बढीको मृत्यु भएको छ भने उद्धारकर्मीहरू दुर्गम पहाडी बस्तीमा पुग्न अझै कठिनाइ भोगिरहेका छन्।




