काभ्रे :- असोज १८ र १९ गतेको अविरल वर्षाबाट आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी खोलामा ठूलो क्षति पुर्याएपछि बिपी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्णरूपमा बन्द भएको छ। बाढीपहिरोले राजमार्गका विभिन्न खण्ड बगाएपछि अहिले पैदल यात्रासमेत अत्यन्त कठिन बनेको छ।
भकुन्डे–नेपालथोक सडकखण्डका करिब २० किलोमिटर क्षेत्र बाढीपहिरोले बगाएपछि यात्रुहरू तीन दिनदेखि खोलाको किनार र भिरपाखा पार गर्दै गन्तव्य पुग्ने प्रयासमा छन्। दसैँ मनाउन घर फर्किन लागेको बेला ग्रामीण सडकसमेत अवरुद्ध भएपछि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता सिर्जना भएको हो।
धुलिखेलदेखि चौकीडाँडासम्म सवारीसाधन चलिरहेका भए पनि त्यसपछिको खण्ड पार गर्न निकै जोखिमपूर्ण बनेको यात्रुहरूले बताएका छन्। भिमखोरीका राजेन्द्र श्रेष्ठले भने, “भिर चढ्दै चौकीडाँडा पुग्नुपर्यो, महिला र बालबालिकालाई त झन् निकै गाह्रो भइरहेको छ। गोरेटो बाटो बनाउन सकिए राहत मिल्थ्यो।”
स्थानीय प्रहरीका अनुसार तीन दिनभित्र करिब दुई हजार यात्रु चौकीडाँडा हुँदै पैदल हिँडिसकेका छन्। बिरामीहरूलाई सुरक्षाकर्मीहरूले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लैजाने गरेका छन्। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार राजमार्गका १७ स्थानमा क्षति पुगेको छ। रोशी र नमोबुद्ध क्षेत्रको समन्वयमा हाल अस्थायी सडक–डाइभर्सन निर्माण सुरु गरिएको छ। रोशी खोलाको बहाव घट्दै गएपछि मङ्गलबारदेखि डाइभर्सन निर्माण कार्य अघि बढाइएको हो।
इञ्जिनियर बिन्दु अधिकारीका अनुसार सडक पूर्णरूपमा बगेकाले खोलाको किनारभन्दा माथिल्लो भागमा नयाँ डाइभर्सन बनाउनुपर्ने भएको छ। सिन्धुलीको नेपालथोकतर्फ पनि दुईवटा स्काभेटर प्रयोग गरी अस्थायी सडक निर्माण कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो।
डिभिजन सडक कार्यालय खाल्टेले क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ। पूर्वी नेपाललाई राजधानीसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन चल्ने भएकाले छिटो मर्मत र सञ्चालन अत्यावश्यक बनेको छ।




