रौतहट :- रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा डुबेर बेपत्ता भएका दुई बालिकामध्ये दुवैजनाको शव फेला परेको छ । आइतबार दिउँसो करिब डेढ बजे खेतमा वर्षाको पानीले बनेको खाल्डो (भंगालो) मा नुहाउने क्रममा रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी राम र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी राम डुबेर बेपत्ता भएका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय गोनाहीका ६ जनाको टोली, सशस्त्र प्रहरी बेस क्याम्प देवाही र स्थानीयवासीले रातभर खोजतलास सञ्चालन गरेका थिए । सोही क्रममा आरती कुमारीको शव करिब २० घण्टापछि फेला पारिएको हो । यस्तै, आज बिहान अन्तिमा कुमारीको शव पनि संयुक्त सुरक्षाकर्मी र स्थानीयको सहयोगमा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बालिकाहरू नुहाउने स्थानभन्दा करिब १० फिट तल रहेको गहिरो खाल्डोमा डुबेका थिए । खाल्डो जलकुम्भीले ढाकिएको भएकाले उनीहरूलाई तत्काल देख्न कठिन भएको थियो ।
मृतक दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।




