काठमाडौँ :- संविधान दिवसका अवसरमा आज बिहान राजधानी काठमाडौँमा बृहत शान्ति र्यालीको आयोजना गरिएको छ। माइतीघरबाट सुरु भएको र्याली भद्रकाली, सहिद द्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमै पुगेर सभामा परिणत भएको थियो।
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) को आयोजनामा भएको कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीवीलगायत विभिन्न पेशा तथा व्यवसायमा संलग्न नागरिकहरूको सहभागिता थियो।
र्यालीका सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। विस २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
सहभागीहरूले संविधानलाई समयसापेक्ष संशोधन र सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याएका थिए। यसै क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा संविधान दिवस मूल समारोह सैनिक मञ्च टुँडिखेलमा आयोजना भइरहेको छ।




