काठमाडौं :- फेसबुक सञ्चालक संस्था मेटाले नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातहरूको विवरण माग गरेको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल मार्फत कागजात विवरण सोधेका हुन्। ठाकुरले भने, “पौने पाँच बजे मेटाका प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ताका लागि आवश्यक कागजातको विवरण माग्नुभएको रहेछ।
हामीले त्यसको पाँच मिनेटभित्रै सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि आवश्यक कागजातबारे जानकारी इमेलमार्फत उपलब्ध गराएका छौं।” नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई क्रमशः रोक लगाउने निर्णय गरेसँगै सामाजिक सञ्जालहरू अहिले तरंगित बनेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले पनि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल बन्द गर्न पत्राचार गरिसकेको छ।




