काठमाडौँ :- दाङको तुलसीपुर उपमहानगरपालिका–४ मजुवाकी मुना ओली यतिबेला निकै व्यस्त हुनुहुन्छ । जिल्लाभित्र हुने सभा–सम्मेलन, विवाह, पूजाआजा तथा विभिन्न धार्मिक कार्यक्रममा नौमती बाजा बजाउन उहाँलाई भ्याइनभ्याई छ । नौमती बाजा बजाउने समूहमा सक्रिय रूपमा संलग्न ओली महिलाले पनि सीप सिकेर आत्मनिर्भर बन्न सक्ने सन्देश दिन चाहनुहुन्छ ।
“महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ,” उहाँ भन्नुहुन्छ, “हामी बाजा बजाएरै अगाडि बढिरहेका छौँ।” उहाँ हाल नौमती बाजाको समूहसँगै जिल्लाका विभिन्न स्थान मात्र होइन, मागअनुसार जिल्लाबाहिरसमेत पुग्ने गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका विष्णु केसीले पछिल्लो समय लोप हुँदै गएको नौमती बाजाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आफूहरू यस क्षेत्रमा लागिपरेको बताउनुभयो । उहाँका अनुसार सुरुमा बाजा सिक्न कठिन लागे पनि अहिले सहज भएको छ । बाजा संरक्षणसँगै केही आम्दानीसमेत हुन थालेपछि महिलाहरूको सहभागिता बढ्दै गएको उहाँको भनाइ छ ।
तुलसी महिला नौमती बाजा समूहमार्फत धेरै महिला यस क्षेत्रमा आबद्ध भएका छन् । विवाह, व्रतबन्ध, मेलापर्व तथा विभिन्न उत्सवमा बजाइने मुख्य बाजाका रूपमा नौमती बाजा रहे पनि पश्चिमेली संस्कृतिको प्रभाव र युवापुस्ताको चासो कमीका कारण यो लोप हुने अवस्थामा पुगेको छ । तर दाङका महिलाहरू भने यसलाई जोगाउन सक्रिय रूपमा जुटिरहेका छन् ।
पहिलेदेखि ग्रामीण क्षेत्रमा बजाइँदै आएको नौमती बाजा व्यावसायिक बन्न नसके पनि तुलसी महिला नौमती बाजा समूहले यसलाई आम्दानीसँग जोड्न सफल भएको छ । समूह सल्यान, रोल्पा, प्युठान, बुटवल र नेपालगन्जसम्म बाजा बजाउन पुग्ने गरेको ४४ वर्षीया सदस्य विमला केसीले जानकारी दिनुभयो ।
समूहकी अध्यक्ष कस्तुरा खड्काका अनुसार एक दिन बाजा बजाएबापत २० हजारदेखि ३० हजार रुपैयाँसम्म लिने गरिएको छ । चार वर्षदेखि बाजा बजाउँदै आउनुभएकी अध्यक्ष खड्काले प्राप्त रकमको आधा समूहमा जम्मा गर्ने र बाँकी रकम बाजा बजाउने टोलीलाई बाँडफाँड गर्ने व्यवस्था रहेको बताउनुभयो ।
उमेरले ५० वर्ष पुग्नुभएकी खड्काका अनुसार सुरुमा सिक्न गाह्रो भए पनि अहिले नौमती बाजा बजाउन समस्या छैन । उहाँले लोपोन्मुख नौमती बाजाको संरक्षण र संवर्द्धन सबैको दायित्व भएको उल्लेख गर्दै तुलसीपुर उपमहानगरपालिकाले तालिम र विभिन्न सहयोग कार्यक्रममार्फत महिला समूहलाई साथ दिँदै आएको बताउनुभयो ।



