काभ्रे :- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज वाशिङटनमा उच्चस्तरीय भेटवार्ता हुँदैछ। यसअघि व्हाइट हाउसमा दुबैबीचको तिक्ततापूर्ण भेटपछि यसपटक जेलेन्स्की यूरोपेली सहयोगी नेताहरूसहित वाशिङटन पुगेका हुन्।
जेलेन्स्कीको वाशिङटन यात्रामा नाटो महासचिव मार्क रुट्टे, बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रिड्रिख मर्ज, फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टुब र यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन पनि सहभागी हुने तयारीमा छन्। तर उनीहरूमध्ये सबैजना व्हाइट हाउस पुग्ने या नपुग्ने भन्ने प्रष्ट भएको छैन।
रसियासँगको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप यो बैठकलाई आधुनिक इतिहासमै अभूतपूर्व मानिएको छ। अघिल्लो साता अलास्कामा सम्पन्न ट्रम्प–पुटिन शिखर वार्तामा ट्रम्पले तत्काल युद्धविराम होइन, स्थायी शान्ति सम्झौताका लागि पहल गर्ने संकेत दिएका थिए।
यद्यपि, ट्रम्प–पुटिन वार्तामा जेलेन्स्कीलाई सहभागी नगराइनु भने यूरोपेली पक्षका लागि चिन्ताको विषय बनेको छ। कतिपय अधिकारीहरूले ट्रम्पले जेलेन्स्कीलाई कुनै सम्झौतामा दबाब दिन सक्ने आशंका व्यक्त गरेका छन्। तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने यी अड्कलबारे प्रतिक्रिया दिँदै यसलाई “मिडियाको आधारहीन कथा” बताएका छन्।
नाटो नेताहरूले पनि यसपटकको भेट वार्ता विवादमा अन्त्य नहोस् भन्ने चाहेका छन्। गत फेब्रुअरीमा भएको ट्रम्प–जेलेन्स्की भेटमा “तिमी त तेस्रो विश्वयुद्धसँग जुवा खेल्दैछौ” भन्ने ट्रम्पको आरोपपछि दुबै देशबीच सम्बन्ध चर्किएको थियो। त्यसयता यूरोपेली नेताहरूले सम्बन्ध सुधार्न पर्दापछाडि प्रयास गर्दै आएका छन्। जेलेन्स्कीलाई पनि ट्रम्पको “डिल मेकिङ” शैलीअनुसार छलफल गर्न सल्लाह दिइएको बताइन्छ।


