काभ्रे :- लगातार वर्षापछि गएको पहिरोले मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास–रिडी सडकखण्ड अवरुद्ध भएको छ। रेसुङ्गा नगरपालिका–१३ भँगारी खोलामा खसेको पहिरोका कारण आज बिहानदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सदरमुकाम तम्घास नजिकै सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। अवरुद्ध सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो। त्यस्तै, पहिरो हटाउनका लागि आवश्यक उपकरण पठाइसकेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो।
सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घास भित्रिने र बाहिरिने सवारीसाधन बाटैमा रोकिएका छन्। हाल सडक खुलाउने कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ।




