काभ्रे :- चक्रे मिलन भनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी धरौटी बुझाएर रिहा भइसकेकाे प्रहरीले जानकारी दिएकाे छ । चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो। एक वर्षअघिको ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो।
उनी बुधबार मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट छुटेका थिए। न्यायाधीश खिमानन्द भुसालको आदेशअनुसार अभद्र व्यवहारको कसुरमा चक्रे ३० हजार धरौटी तिरेर रिहा भएका थिए। भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई त्यसपछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।




