काभ्रे :- देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ ।
मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी ९९ दशमलव सात, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार भदौ दोस्रो सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । मधेस प्रदेशमा सबैभन्दा कम ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष मधेसमा अहिलेसम्म ९७ प्रतिशत रोपाइँ भएको थियो ।
मधेस प्रदेशमा मनसुन अलि ढिला सक्रिय भएकाले प्रतिशतका हिसाबले सबैभन्दा कम रोपाइँ भएको पाइएको जोशीले बताए । मधेसमा आवश्यक वर्षा हुन नसकेकाले रोपाइँ प्रभावित भएको उनको भनाइ छ ।


