काभ्रे :- हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि दबाब दिन आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायल प्रस्थान गरेका छन्। त्रिभुवन विमानस्थल हुँदै फ्लाई दुबईको विमानमार्फत उनीहरू त्यसतर्फ लागेका हुन् । नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका गरेका छन् ।
उनीहरू सोमबार साँझ इजरायल पुग्नेछन्। त्यहाँस्थित नेपाली दूतावासले समन्वय गरी इजरायलको परराष्ट्र मन्त्रालयको जिम्मा लगाउने छ । खोजीका लागि बाँकी काम त्यहीँबाट सुरु हुनेछ । त्यहाँ पद्मा र पुष्पाले इजरायलका उच्च नेता, कर्मचारी र सेनाका अधिकारसँग भेटवार्ता गर्नेछन् ।
‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि विपिन इजरायल गएका थिए । हमासले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।




