काभ्रे :- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ निवासी ६० वर्षीय सेतेमान भोलनको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टर अस्पतालमा मृत्यु भएको छ । मंगलबार बिहानको दैनिकी अनुसार दूध लिएर डेरीतर्फ जाँदै गर्दा बाटोमै लडेर गम्भीर घाइते भएका भोलनको उपचारको क्रममा निधन भएको हो ।
आज मंगलबार बिहान बेथानचोक गाउँपालिका–३ गोर्खाली टोलस्थित डेरीमा दूध बोकेर जाँदै गर्दा बाटोमै चिप्लिएर लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । तुरुन्तै उनका छोरा सुदीप भोलनले घाइते अवस्थामै उनलाई काठमाडौंस्थित ट्रमा सेन्टर पुर्याएका थिए । तर, बिहान करिब १०ः४० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी ढुङखर्क, काभ्रेबाट टोली अस्पताल खटिएको थियो । प्रारम्भिक अनुसन्धानका अनुसार बाटो चिप्लो भएकाले लडेर गम्भीर चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।




