काठमाडौँ :- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताएका हुन् । लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौ भन्दै प्रश्न गरे । उनले भने, ‘आज सर्वत्र भ्रष्टाचार, अराजकता र वेथितिले अघि बढेको देखिन्छ । गम्भीर समीक्षा नगर्ने हो भने निकै ठुलो विस्फोटतिर जाने अवस्था छ ’, ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शिक्षा विधेयक लगायत अन्य विधेयकहरूमा भएका चलखेलमाथि अवाञ्छित चलखेलले नेपाली जनतालाई लज्जित बनाएको बताए । दुई ठुला दल मिलेर जे गरे पनि हुन्छ भने जसरी संसद्को हुर्मत लिनु दुर्भाग्य र खेदजनक रहेको प्रचण्डले बताए ।
प्रचण्डले देश बहु आयामिक सङ्कटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गरे ।
‘के हामी शान्ति सम्झौताका बेला देखिएको सपना अनुसार अघि बढिरहेका छौँ ?’ भन्ने प्रश्न गर्दै प्रचण्डले भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको, र पछाडि पारिएका समुदायलाई राज्यले आवश्यक संरक्षण दिन नसकेको उनले बताए । संसद् र संसदीय समितिमा भइरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै उनले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै चर्को आलोचना गरे ।




