
काठमाडौँ :- सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा निगुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निगुरो र अम्रिसो लगाएका हुन् ।
यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उनले योजना सुनाए । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताए ।यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म तीन लाख लगानी भएको छ । हाल गाउँमै निगुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो ।
रेश गाउँमा पहिले निगुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताए ।