
काठमाडौँ :- नेकपा (एमाले) की सांसद एवं पूर्व शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संविधानको मर्म र भावना विपरीत जान नसक्ने बताएकी छन् ।
आज शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयको व्यवस्थापनका विषयमा धारणा राख्दै उनले विधेयकले शिक्षामा वर्ग निर्माण गर्ने हालको अभ्यासलाई अन्त्य गर्दै सबै विद्यार्थीलाई समान हैसियत प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
संविधानले प्रत्याभूत गरेको निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्थालाई कार्यान्वयन गर्नु नै विधेयकको मुख्य ध्येय हुनुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको स्पष्ट व्यवस्था गरेको छ, ’हामीले बनाउने कानुन यही मर्म र भावनालाई कार्यान्वयन गर्नका लागि हो, यसको विपरीत जान मिल्दैन ।’
उनले सरकार र समिति यो स्पिरिटभन्दा बाहिर जाने वा यसलाई सम्बोधन गर्ने भन्नेमा स्पष्ट हुनुपर्ने धारणा राखिन् । उनले शिक्षा व्यापार वा वस्तु नभई सेवा भएको बताउँदै हालको शिक्षा प्रणालीले गरिरहेको “वर्ग निर्माण“ लाई विधेयकले अन्त्य गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘विद्यालयको गेटभित्र पस्दा सबै विद्यार्थीले समान महसुस गर्नुपर्छ, हाम्रो कानुनले त्यो सुनिश्चित गर्नुपर्छ,’।